सिक्किमको गान्तोक जिल्लाअन्तर्गत सिङ्गाम बजारस्थित प्रणामी मन्दिरमा आयोजित जगत्गुरु शिवशक्ति बाबाको दुईदिने आध्यात्मिक तथा सेवा शिविर सम्पन्न भएको छ।
आयोजकका अनुसार शिविरमा सिक्किमका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सर्वसाधारणदेखि विभिन्न विशिष्ट व्यक्तित्व (VIP) तथा सिक्किम प्रहरी समेत शिविरमा सहभागी भई सेवा लिएका थिए। सहभागीहरूले शिविरप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।
शिविरको सफल आयोजनालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय कथावाचक रोहितराज महाराजज्यूले जगत्गुरु शिवशक्ति बाबालाई प्रशंसापत्र सहित भव्य सम्मान प्रदान गरेका छन्।
यसै अवसरमा शिविरका गतिविधि तथा समाचारलाई दर्शकमाझ प्रभावकारी रूपमा पुर्याएको योगदानको कदरस्वरूप एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराईलाई पनि अन्तर्राष्ट्रिय कथावाचक रोहितराज महाराजज्यूद्वारा विशेष सम्मान गरिएको छ।
यसैबीच, शिवशक्ति बाबा नेपाल फर्किएपछि पनि पत्रकार कुमार भट्टराईलाई सिक्किमका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधिहरूको अवलोकन र समाचार संकलनका लागि सिक्किम सरकारबाट थप दुई दिनको परमिट प्रदान गरिएको जनाइएको छ।
धार्मिक आस्था, आध्यात्मिक सेवा, सांस्कृतिक आदानप्रदान र आपसी सद्भावको सन्देश बोकेको उक्त कार्यक्रमले सिक्किमका श्रद्धालुहरूबीच विशेष उत्साह र सकारात्मक वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।